काठमाडौं । सोमबार साँझ देशभर सामान्यतया बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज रातभर देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ भने बाँकी प्रदेशका केही स्थानमा पनि वर्षा हुने देखिएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोसी, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने सम्भावना पनि महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहँदा अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आएको छ । मौसमविद्हरूका अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का वर्षा, १०–५० मिलिमिटर वर्षालाई मध्यम वर्षा, ५०–१०० मिलिमिटर वर्षालाई भारी वर्षा, १००–२०० मिलिमिटर वर्षालाई धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ ।
प्रदेशमा वर्षा हुने सम्भावनाका आधारमा “एक दुई स्थानमा वर्षा” भनेको १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो । “थोरै स्थानमा वर्षा” १०–३० प्रतिशत, “केही स्थानमा वर्षा” ३०–५० प्रतिशत, “धेरै ठाउँमा वर्षा” ५०–८० प्रतिशत र “धेरैजसो स्थानमा वर्षा” ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने अवस्थामा प्रयोग हुन्छ ।




