काठमाडौं । सडक विभागले यस वर्षको दशैंयात्रा सहज हुने दाबी गरेको छ । विभागका अनुसार उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुलाई सहज बनाउन मुलुकका अधिकांश राजमार्गमा पहिरो पन्छाउने र सुधार गर्ने काम सम्पन्न भइसकेको छ ।
हालसम्म पृथ्वी राजमार्ग, अरनिको राजमार्गलगायतका मुख्य मार्गमा बारम्बार पहिरो खस्दा यात्रुहरूलाई ठूलो सास्ती भएको थियो । केही दिनअघि मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी जाममा अल्झिनुपरेको थियो । विभागका प्रवक्ता प्रभातकुमार झालका अनुसार हाल सबै मुख्य सडक सञ्चालनमा छन् ।
“दशैंयात्री बाहिरिने क्रम सुरु हुँदा पहिरोका कारण राजमार्ग अवरुद्ध भए पनि हामी २४ घण्टा खटिएर तत्कालै सडक सञ्चालनमा ल्यायौं । अहिले ठूलो वर्षा नभएसम्म पुनः समस्या आउने देखिँदैन,” उहाँले भन्नुभयो ।
विभागका तथ्याङ्कअनुसार हाल चार राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छन् भने १७१ सडकखण्ड एकतर्फी सञ्चालन भइरहेको छ । तर केही महत्वपूर्ण मार्ग भने अझै अवरुद्ध रहेका छन् ।
ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा रसुवागढी र स्याउपार्किङतर्फको यातायात ठप्प छ । चीनतर्फबाट आएको बाढीले गत साउन १४ गते सडक कटान गरेपछि यो खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।
त्यसैगरी, चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) राजमार्ग अन्तर्गत ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पनि बाढीले बगाएपछि अवरुद्ध छ ।
करिब पाँच वर्षअघि रेमिट हाइड्रोले निर्माण गरेको यो पुल गत साउन ६ गतेको बाढीले बगाएको थियो । हाल पुन: बेलीब्रिज निर्माण गर्ने पहल भइरहेको विभागले जनाएको छ । यस्तै, रसुवाको तातोपानी र टिमुरे खण्डमा पनि ठप्प अवस्था रहेको छ ।
कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले र लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का मार्गमा समेत विभिन्न ठाउँमा अवरोध रहेका छन् । सङ्खुवासभाको अल्फटेमा पनि यातायात रोकिएको विभागले जनाएको छ ।




