सप्तरी । बडादशैंको अवसरमा आज महानवमीका दिन नेपाली सेनाले हेलिकप्टरमार्फत सप्तरीका दुई प्रमुख शक्तिपीठमा पुष्पवृष्टि गरेको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा आज नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गरेको हो ।
विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ यो परम्परा निरन्तर चल्दै आएको छ । कङ्कालिनी मन्दिरमा राँगा बलि दिने परम्परा रहेको छ भने आज पनि ठूलो मेला लागेको छ । मन्दिर विकास समितिका अनुसार यस वर्ष राँगा बलिका लागि हालसम्म ५९० आइपुगेका छन् ।
त्यस्तै, छिन्नमस्ता गाउँपालिका ३ सखडास्थित छिन्नमस्ता भगवती मन्दिरमा पनि आज पुष्पवृष्टि गरिएको छ । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार, स्थानीय प्रशासनको अनुरोधमा नेपाली सेनाले हेलिकप्टरमार्फत मन्दिरमा पुष्पवृष्टि गरेको हो ।




