काठमाडौं । आज गुरुपुरोहित र मान्यजनको हातबाट टीका लगाएर बडादशैं मनाइँदैछ । यस वर्ष टीका लगाउने उत्तम समय बिहान ११ बजेर ५३ मिनेट रहेको छ । धेरैले यस विषयमा जानकारी पाइसकेका हुन सक्छन् र टीका लगाउँदा कस्तो दिशा फर्किने भन्ने परम्पराको पनि बुझाइ छ ।
परम्पराअनुसार, टीका लगाउने क्रममा टीका थाप्ने व्यक्ति पूर्वतर्फ फर्किन्छ भने टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किन्छ । यो पुरानो परम्परा अनुसार, पूर्व–पश्चिम दिशामै टीका लगाउनु राम्रो मानिन्छ ।
कहिलेकाहीँ केहीले दक्षिणतर्फ फर्केर टीका लगाउने चलन पनि छ, तर दक्षिणतर्फ फर्केर पितृकर्म मात्र गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिणतर्फ नफर्किनु उचित मानिन्छ ।
टीका लगाउने समय र दिशा चन्द्रमा हेरेर तय गर्ने चलन पनि भए तापनि धेरैले सामान्य परम्परा अनुसार टीका थाप्ने व्यक्ति पूर्व र टीका लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्केर मात्र लगाउने गर्छन् । यस वर्ष देवी विसर्जनको उत्तम समय बिहान ९ बजेर २३ मिनेट रहेको छ ।
विशेष कारणले टाढा जानुपर्नेले झुल्के घाममै देवी विसर्जन गरेलगत्तै टीका लगाउन सक्ने व्यवस्था छ । किनभने टीका र जमरा देवीदुर्गाको पूजाको प्रसाद मानिने भएकाले प्रसाद ग्रहण गर्न साइत हेर्न अनिवार्य हुँदैन ।




