काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएको र असोज १८ देखि २० गतेसम्म देशका केही भागमा भारी वर्षाको संभावना रहेको भन्दै सबैलाई सतर्क रहन अनुरोध गरेको छ ।
विभागका अनुसार बंगालको खाडीमा बनेको न्यून चापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्दै नेपालमा वर्षा ल्याउनेछ । यसका कारण विशेषगरी बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो र डुबानको जोखिम बढ्ने अनुमान गरिएको छ ।
त्यस्तै कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहटमा पनि आकस्मिक बहावको संभावना उच्च रहेको विभागले जनाएको छ । नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र खतरा तह नजिक पुग्न सक्ने चेतावनी दिइएको छ ।
साना नदी–नाला र पहाडी क्षेत्रका नालामा पनि आकस्मिक बहाव हुन सक्ने सम्भावना छ । यस वर्षको मनसुनले बाढी, पहिरो, भूक्षयका साथै सडक र हवाई यातायात प्रभावित हुने अनुमान गरिएको छ ।
विभागले नियमित अपडेट र पूर्वसूचनामा ध्यान दिन तथा आवश्यक सतर्कता अपनाउन सबै नागरिकलाई अनुरोध गरेको छ । मौसमविद्हरूका अनुसार दशैंपछि यस वर्ष भारी वर्षा हुने सम्भावना रहेको छ ।




