काठमाडौं । बेलायतको अल्डरसटमा बुधबार बिहान भएको कार दुर्घटनामा दुई नेपाली वृद्ध पैदलयात्रीको मृत्यु भएको छ । ह्याम्पसायर प्रहरीले जनाएको छ कि फ्लीट रोडमा बिहान करिब ६:३० बजे निलो रंगको स्कोडा कारले ७६ र ७७ वर्षका दुई नेपाली वृद्धलाई ठक्कर दिँदा उनीहरू घटनास्थलमै निधन भएका हुन् ।
घटना पछि प्रहरीले कार चालक, ६६ वर्षका वकिङहाम निवासी पुरुषलाई पक्राउ गरेको छ । उसलाई मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरवाहीपूर्वक सवारी चलाएर दुर्घटना गरेको आरोपमा हिरासतमा राखिएको छ ।
प्रहरीले अनुसन्धान अगाडि बढाउँदै प्रत्यक्षदर्शीहरूलाई घटना सम्बन्धी जानकारी दिन अपील गरेको छ । साथै दुर्घटनास्थल वरपरको सीसीटीभी वा ड्यासक्याम फुटेज भए उपलब्ध गराउन पनि आग्रह गरेको छ । जानकारीका लागि १०१ नम्बरमा फोन गरी रिफरेन्स नम्बर ४४२५०४४३४८८ उल्लेख गर्न सकिने प्रहरीले जनाएको छ ।
दशैंको समयमा भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदायलाई स्तब्ध बनाएको छ । अल्डरसटमा बेलायतकै सबैभन्दा ठूलो नेपाली समुदाय बसोबास गर्छ । तमुधिं यूकेका महासचिव डा. विशाल गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीय समुदायलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका छन् ।




