काठमाडौं । लगातारको अविरल वर्षापछि देशभरिका सडकखण्डहरूमा ठूलो असर परेको छ । काठमाडौं भित्रिने र बाहिरिने सबै लामो दूरीका सवारी साधनहरू २० गतेसम्म रोकिएको छ । नेपाल प्रहरीले ११ बजेसम्मको अद्यावधिक जानकारी अनुसार काठमाडौं–धादिङ/मकवानपुर मार्ग, चन्द्रागिरि नगरपालिकाबाट नागढुङ्गा, गोदाम, टखेल हुँदै जाने सडक खण्ड दुवै तर्फका सवारीका लागि बन्द गरिएको छ ।
धादिङ बेनिघाट–रोराङ गापा १०, जवाङखोला स्थित पृथ्वी लोकमार्गमा पहिरो आउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने काभ्रेको बिपी र अरनिको राजमार्गमा अविरल वर्षाका कारण धुलिखेलदेखि प्रहरी चौकी दोलालघाट हुँदै सिन्धुपाल्चोक सीमा सम्म दुबै तर्फका सवारी अनिश्चितकालका लागि रोकिएका छन् ।

रसुवामा बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल क्षति पुर्याउँदा रसुवागढी नाकामा सवारी आवतजावत बन्द भएको छ । त्यस्तै, गोसाइकुण्ड गापा वडा नं. २, घट्टेखोलास्थित पासाङ ल्हामु सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
संखुवासभा भोटखोला गापा ४ स्थित बरुणखोलामा बाढीले ह्युम पाइप बगाउँदा खाँदबारी–थुमसुर जाने कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने मकालु गापा ३, एकुवा स्थित खाँदबारी–किमाथांका सडक खण्डमा पनि पहिरोले बाटो अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले बिपी राजमार्गलाई मिति २०८२।०६।१६ देखि २१ गतेसम्म साँझ १७:०० बजेदेखि बिहान ०५:०० बजेसम्म पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ । भोटकोशी गापा ४, चारकिलो स्थित अरनिको राजमार्गमा २ मिटर सडक भासिन गई सवारी अवरुद्ध भएको छ ।





