काठमाडौं । तीन दिनदेखि आमरण अनशनमा बसेका अछामका युवा मदन बुढाको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार असोज २७ गते उपचारका लागि वीर अस्पताल पुर्याइएको छ । बुढा शनिबार असोज २५ गते राति ९ बजेदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा बसेका थिए ।

तीनबुँदे मागसहित अनशन सुरु गरेका बुढाको स्वास्थ्य अवस्था कमजोर भएपछि स्वास्थ्यकर्मीले तत्काल अस्पतालमा भर्ना गर्न सुझाव दिएका थिए । त्यसपछि नेपाल प्रहरीले उनलाई आफ्नो भ्यानमा राखेर वीर अस्पताल पुर्याएको हो ।

बुढाले हालको अन्तरिम सरकारमा सुदूरपश्चिम प्रदेशको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्न, ‘जेनजी’ आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्य र घाइतेलाई तत्काल रोजगारीको व्यवस्था गर्न, साथै तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
अस्पताल लैजानुअघि उनले आफ्ना माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने अडान दोहोर्याएका थिए ।




