काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकस्थित मालपोत कार्यालय, धुलिखेलका खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार, भण्डारीले साविक दोलालघाट गाविस ७ मा रहेका फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू हकवालाको नाममा छुट दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस मागी लिएको आरोप छ ।
उक्त सूचना र उजुरीका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानपछि भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम घुस लिएको कसुर गरेको प्रमाणित भएको आयोगले जनाएको छ । त्यसअनुसार, अख्तियारले उनलाई बिगो बराबर जरिवाना र कैद सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, भण्डारीविरुद्ध दफा ३(१) को देहाय (ग) बमोजिम कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो ।




