रौतहट । रौतहट, रूपन्देही र धनुषामा छुट्टाछुट्टै घटनामा पोखरी र खोलामा डुबेर पाँच बालबालिकाको मृत्यु भएको छ । एकैदिन तीन जिल्लामा डुबेर पाँच बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुल्सी बस्ने सुरेश साहकी १३ वर्षीया छोरी इन्द्राशन कुमारी साहको शुक्रबार दिउँसो सोही ठाउँस्थित झाझखोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । डुबेर अशक्त भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी रौतहटकै गरुडा नगरपालिका ५ स्थित झाझखोलामा शनिबार दिउँसो नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ३ घर भई सोही ठाउँमा बसोबास गर्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको शिवनगरस्थित संजिवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै रूपन्देहीको मर्चवारी गाउँपालिका ६ नौरिहवा घर भई हाल मायादेवी गाउँपालिका २ हुर्सरीचोक बसोबास गर्दै आएका प्रमोद मौरीयाका ६ वर्षीय छोरा दिवान्स मौरीया र ३ वर्षीय छोरा रिवान्स मौरीयाको शनिबार दिउँसो सोही ठाउँस्थित आरसिएस होटलको परिसरभित्र रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । डुबेर अशक्त भएका दुवै बालकको भिम अस्पताल, भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै धनुषाको जनकनन्दिनी गाउँपालिका ३ महुवा बस्ने राम पुजन दासकी ५ वर्षीया छोरी सालो दासको शुक्रबार दिउँसो सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । सम्बन्धित सबै घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।




