काठमाडौं । वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुई जना युवकहरु रहेका छन् ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ७ घर भएका २२ वर्षीय आदर्श तिमल्सिना र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ४ घर भएका ३४ वर्षीय आशिष खोखाली रहेका छन् ।
आदर्शले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख ५० हजार रूपैयाँ र आशिषले ११ लाख ५० हजार रूपैयाँ लिई फरार भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १२ बाट आदर्शलाई आइतबार र आशिषलाई सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।




