सर्लाही । १० महिनाअघि मात्र युरोप पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको रोमानियामा सडक दुर्घटनामा मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ६ घर भएका सलिन हाल रोमानियाको राजधानी बुखारेस्टस्थित पान फास्टफुडमा कार्यरत थिए ।
दुर्घटना राजधानीको काला जिउलेस्ती सडकमा भएको थियो । घटनास्थलमै उनको मृत्यु भएको र अस्पताल पुर्याउँदा पनि जीवित नभएको जानकारी नेपाल पत्रकार महासंघ, युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले दिए ।
प्रहरीका अनुसार, बाटो काट्दै गरेका सलिनलाई विपरीत दिशाबाट तीव्र गतिमा आएको कारले ठक्कर दिएको थियो । ठक्कर दिने कार १८ वर्षीय रोमानियन युवकले चलाएको प्रहरीले जनाएको छ ।
हाल सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ । परिवारलाई घटनाको जानकारी गराइसकिएको छ र कानुनी प्रक्रिया पूरा गरेपछि शव नेपाल ल्याइने तयारी भइरहेको छ ।




