काठमाडौं । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिज प्रक्रियामा भएको अनियमितता सम्बन्धी प्रकरणमा चार जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वसचिव अर्जुनबहादुर कार्की, सहसचिव तथा तत्कालीन सदस्य सचिव लेखबहादुर, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध ठगी कसुरमा मुद्दा दायर गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालत काठमाडौंमा ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा दायर गरेको सीआईबीले जनाएको छ । प्रतिवादी बनाइएकामध्ये तत्कालीन सचिव कार्की र सहसचिव लेखबहादुरलाई पक्राउ गरी अदालतमा पेस गरिएको पनि सीआईबीले जानकारी दिएको छ ।
यसै प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव (पीए) राजेश बज्राचार्यले तारा एयरमार्फत बालकोटमा घर खरिद गरेको विवरण देखिएकाले उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट थप अनुसन्धान हुनुपर्ने राय सीआईबीले दिएको छ ।
लामो समयसम्मको अनुसन्धानपछि सीआईबीले मुद्दा दायरका लागि प्रतिवेदन पेस गरेको र त्यसैका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो ।
यस प्रकरणसँगै नेपाल ट्रस्ट अन्तर्गतकै गोकर्ण फरेस्ट रिसोर्टमा भएको भनिएको अझ गम्भीर अनियमिततामा पनि ठूला व्यक्ति तानिन सक्ने आँकलन गरिएको छ । सो विषयमा समेत थप अनुसन्धान अघि बढ्ने संकेत देखिएको छ ।




