काठमाडौं । मोरङ र बागलुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिका ४ कासिजामस्थित सडकमा मे ११ प १४० नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा ६२ वर्षीय जयराम प्रसाद दासको बिहीबार राति मृत्यु भएको हो । उनी सोही नगरपालिका ४ का बासिन्दा हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दासको रंगेली अस्पताल, रंगेलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने विराटनगरस्थित मकालु अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै, बागलुङ नगरपालिका ४ कुंडुलेस्थित सडकमा ध १ च १३३६ नम्बरको जिपले पैदल यात्रीलाई ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । काठेखोला गाउँपालिका १ धैरेनी निवासी शिवप्रसाद शर्माका ५ वर्षीय छोरा सूर्य ढुङ्गानाको बिहीबार साँझ मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




