काठमाडौं । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ हाल अमेरिकामा छन् । ग्रीनकार्ड प्राप्त गरिसकेका उनीहरू छोरीको उपचारका लागि अचानक अमेरिका गएको बताएका थिए । नेपालमै व्यापक खोजी र चासो बढिरहेका बेला अमेरिका पुगेका धुर्मुस–सुन्तलीले त्यसपछि सामाजिक सञ्जालमार्फत लामो स्पष्टिकरण सार्वजनिक गरेका थिए ।
फेसबुकमा पोस्ट गरिएको उक्त ‘बकपत्र’मा उनीहरूले चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाका क्रममा लागेको ऋण, त्यसको स्वामित्व सरकारले नलिएको विषय तथा आफूहरू भागेर अमेरिका नगएको दाबी उल्लेख गरेका थिए । २६ मंसिरमा सार्वजनिक गरिएको सो स्टाटसमा ग्रीनकार्ड लिएको कुरा पनि खुलाइएको थियो ।
यतिबेला धुर्मुस–सुन्तली पुन: चर्चामा आएका छन्, तर यस पटक कारण फरक छ । कुञ्जना घिमिरेले आफ्नो टिकटक एकाउन्टमार्फत लगातार रोमान्टिक तथा पारिवारिक भिडियोहरू पोस्ट गर्न थालेपछि सामाजिक सञ्जालमा बहस सुरु भएको हो ।
क्रिसमस सेलिब्रेसनदेखि अमेरिकी सडकमा घुमफिर गरिरहेको दृश्यसम्म समेटिएका भिडियोहरू उनीहरूले सार्वजनिक गरिरहेका छन्। ‘यस्तै होला माया भन्ने…’ गीतमा बनाइएको एक भिडियोमा उनीहरू खुसी र प्रफुल्ल देखिन्छन् ।
सोही भिडियोसँगै कुञ्जनाले “हरेक सुख दु:खमा साथ–साथ हुन पाइएको छ बुढु, त्यसैमा चित्त बुझाउनुपर्छ । मेरी क्रिसमस” भन्दै सीतारामलाई शुभकामना दिएकी छिन् । अन्य भिडियोहरूमा परिवारसँग मिलेर क्रिसमसका परिकार तयार पारिरहेको दृश्य र छोरी सुविहानीले गीत गाउन सिक्दै गरेको पल पनि देख्न सकिन्छ ।
यी टिकटक पोस्टहरूलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता दुई धारमा विभाजित देखिएका छन् । एकथरीले विशेष परिस्थितिमा अमेरिका पुगेका भन्दै एकातिर समस्या र अर्कोतिर सार्वजनिक रूपमा देखिएको रोमान्सबीच विरोधाभास रहेको टिप्पणी गरेका छन् ।
अर्कोतर्फ, धेरैले धुर्मुस–सुन्तलीलाई खुसी हुने, रमाउने र आफ्नै तरिकाले जीवन बिताउने अधिकार रहेको तर्क अघि सारेका छन् । यस्तो बहस चलिरहेकै बीच, कुञ्जना घिमिरेले भने लगातार नयाँ टिकटक भिडियोहरू सार्वजनिक गरिरहेकी छिन्, जसले उनीहरूलाई पुन: सामाजिक सञ्जालको केन्द्रमा ल्याएको छ ।






