काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलब दिने प्रलोभनमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ बस्ने ताप्लेजुङ सिदिङ्वा ५ निवासी ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु रहेका छन् ।
यसैगरी काठमाडौं तारकेश्वर ५ बस्ने रुकुम पश्चिम मुसिकोट १० निवासी ३० वर्षीय अभिशेष कराला, काठमाडौं बुढानिलकण्ठ ७ बस्ने अर्घाखाँची मालारानी १ निवासी ४६ वर्षीय चेतनारायण आचार्य, काठमाडौं गोकर्णेश्वर ८ बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली ७ निवासी ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौं नागार्जुन ६ बस्ने काठमाडौं १७ निवासी ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार, उनीहरूले विभिन्न विदेशी गन्तव्यको नाममा पीडितहरूबाट ठगी गरेका थिए । विवरण अनुसार सुनिताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ, अभिशेषले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ लाख ४० हजार रूपैयाँ, चेतनारायणले बेलायत पठाइदिन्छु भन्दै १३ लाख ६० हजार रूपैयाँ, रेशमले अमेरिका पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ र निलिमाले बेलायत पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ लिएको उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनितालाई काठमाडौं ३२, अभिशेषलाई काठमाडौं १२, चेतनारायणलाई काठमाडौं २६, रेशमलाई काठमाडौं ६ र निलिमालाई काठमाडौं नागार्जुन ६ बाट क्रमश: पक्राउ गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।




