काठमाडौं । चर्चित गायिका ज्योति मगरले सामाजिक सञ्जालमार्फत देशको राजनीति, वैदेशिक प्रभाव र पछिल्ला बहसहरूलाई लिएर कडा टिप्पणी गरेकी छन् । उनले ‘नयाँलाई मौका दिने’ नाममा देशलाई बारम्बार बाह्य शक्ति र वैचारिक प्रयोगको केन्द्र बनाइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको आफ्नो भनाइमा मगरले कहिले एमसीसी, कहिले धर्मनिरपेक्षता, कहिले हिन्दु राज्य, त कहिले विदेशी संस्था र गुप्तचर एजेन्सीको नाम जोडेर देशलाई लामो प्रक्रियामार्फत ‘बेच्ने’ प्रवृत्तिमाथि प्रश्न उठाएकी छन् ।
उनले यस्तो अवस्था निरन्तर रहनुभन्दा देशको स्वाधीनता र आत्मसम्मान माथि स्पष्ट बहस हुनुपर्ने धारणा राखेकी छन् । मगरले नेपाल गरिब भएपनि कहिल्यै कसैको उपनिवेश नबनेको इतिहास बोकेको स्वाधीन र स्वतन्त्र राष्ट्र भएको उल्लेख गर्दै अविवेकपूर्ण अभिव्यक्ति, गालीगलौज र भ्रम फैलाएर देशलाई अस्थिर बनाउने प्रयास नगर्न चेतावनी समेत दिएकी छन् ।
उनले नेपाललाई कहिले ‘नयाँ पुराना’, कहिले भारत, अमेरिका, ‘रअ’, ‘सिआइए’ वा अन्य अन्तर्राष्ट्रिय एजेन्डाका लागि प्रयोग गरिने प्रयोगशालाजस्तो बनाउन नहुने धारणा व्यक्त गरेकी छन् ।
आगामी निर्वाचन सन्दर्भमा पनि टिप्पणी गर्दै मगरले व्यक्ति वा समूहभन्दा राष्ट्रवाद र राष्ट्रिय हितले जित्नुपर्ने बताएकी छन् । उनका अनुसार चुनाव नयाँ वा पुरानाको बहसभन्दा माथि उठेर राष्ट्र र स्वाधीनताको पक्षमा केन्द्रित हुनुपर्छ ।
सामाजिक सञ्जालमा उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि समर्थन र आलोचना दुवै प्रकारका प्रतिक्रिया आइरहेका छन् । कतिपयले उनको राष्ट्रवादी चेतनाको प्रशंसा गरेका छन् भने केहीले अभिव्यक्तिको शैली प्रति असहमति जनाएका छन् ।






