काठमाडौं । जेनजी आन्दोलनपछि नेपाल प्रहरीमा जागिर छोड्नेको संख्या ह्वात्तै बढेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनयता मात्र ९२६ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो छ महिनामा (साउनदेखि पुस २४ गतेसम्म) ९२६ जनाले जागिर छोडेका हुन् । साउनदेखि भदौ २४ गतेसम्म आठ जना मात्र प्रहरी कर्मचारीले राजीनामा दिएकोमा आन्दोलनपछि चार महिनामै नौ सय १८ जनाले जागिर छोडेका तथ्यांकले देखाउँछ ।
प्रहरीका अनुसार पछिल्लो पाँच वर्षमा मात्र पाँच हजारभन्दा बढी प्रहरी कर्मचारीले सेवा छोडेका छन् । आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म कुल चार हजार ९९९ जनाले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तथ्यांक अनुसार सबैभन्दा धेरै प्रहरी कर्मचारीले गत आर्थिक वर्षमा जागिर छोडेका थिए । उक्त वर्ष दुई हजार ३७३ जनाले राजीनामा दिएका थिए । त्यसपछि आर्थिक वर्ष २०८०/८१ मा ७९१, २०७९/८० मा ६३३, २०७८/७९ मा ४९९ र २०७७/७८ मा ७०३ जनाले प्रहरी सेवा त्यागेका छन् ।
यसरी पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा औसत रूपमा प्रत्येक वर्ष सयौँ प्रहरी कर्मचारीले जागिर छोड्दै आएको देखिन्छ । प्रहरी संगठनभित्र बढ्दो राजीनामाको प्रवृत्तिले जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको छ ।
सामान्य नागरिकलाई प्रहरी सेवामा ल्याउन राज्यले ठूलो लगानी र समय खर्च गर्ने गर्दछ । प्रहरीमा भर्ना भएका व्यक्तिलाई नौ महिनादेखि डेढ वर्षसम्म तालिम दिएपछि मात्र फिल्डमा खटाइन्छ । प्रहरी स्रोतका अनुसार एक जना प्रहरी कर्मचारीको तालिम र वृत्ति विकासमा राज्यको तीन लाखदेखि दश लाख रुपैयाँसम्म खर्च हुने गर्दछ ।
यसरी तयार पारिएको जनशक्तिले बीचमै जागिर छाड्दा राज्यको लगानी ‘बालुवामा पानी’ सरह भइरहेको सरोकारवालाहरूको भनाइ छ । जेनजी आन्दोलनपछि देखिएको राजीनामाको तीव्र वृद्धिले प्रहरी संगठनको मनोबल, व्यवस्थापन र नीतिगत सुधार बारे गम्भीर प्रश्न उठाएको छ ।




