सर्लाही । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट २८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तीन जना पूर्वप्रतिनिधि सभा सदस्यसहितको उम्मेदवारीले यस क्षेत्रको निर्वाचनलाई थप रोचक बनाएको छ ।
सर्लाही १ मा मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, नेकपा (एमाले) बाट मनोजकुमार देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमोद साह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नीतिमा भण्डारी कार्की उम्मेदवार रहेका छन् ।
उम्मेदवारहरू यति बेला वडास्तरमा अगुवा कार्यकर्तासँग भेटघाट गर्ने, सम्पर्क कार्यालय सञ्चालन गर्ने, निर्वाचन परिचालन समिति गठन गर्ने लगायतका गतिविधिमा व्यस्त छन् । उम्मेदवारी दिएका मध्ये शम्भुलाल श्रेष्ठ, प्रमोद साह र रामप्रकाश चौधरी यस क्षेत्रका पूर्वप्रतिनिधि सभा सदस्य हुन् ।
२०७९ को निर्वाचनमा गठबन्धनका तर्फबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरी २४ हजार ८३८ मत प्राप्त गरी निर्वाचित भएका थिए । त्यतिबेला स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत र एमाले गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरेका थिए ।
केन्द्रमा भएको गठबन्धन अनुसार निवर्तमान सांसद चौधरीलाई नेपाली कांग्रेस र तत्कालीन नेकपा (एकीकृत समाजवादी) को समर्थन थियो । यस पटक भने कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ । तत्कालीन समाजवादी पार्टी हाल माओवादी केन्द्रसँग एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रमोद साह २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का तर्फबाट २२ हजार ३६ मत ल्याएर विजयी भएका थिए । त्यस निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार स्वर्गीय ध्रुवप्रसाद गौतमले २१ हजार ४६५ र कांग्रेसका शम्भुलाल श्रेष्ठले २० हजार ७५ मत प्राप्त गरेका थिए ।
हरेक निर्वाचनमा नयाँ प्रतिनिधि सभा सदस्य चयन हुँदै आएको सर्लाही १ मा यस पटक पनि प्रतिस्पर्धा निकै चासोको विषय बनेको मतदाताहरू बताउँछन् । यस निर्वाचन क्षेत्रमा कुल १ लाख ३० हजार ८७१ मतदाता छन् ।
चुरे क्षेत्रको सिन्धुलीसँगको सीमादेखि मधेशको समथर भूभागसम्म फैलिएको सर्लाही १ मा चन्द्रनगर गाउँपालिका (१–७), लालबन्दी नगरपालिका (१–१७), ईश्वरपुर नगरपालिका १५ बाहेकका वडा (१–१४), हरिपुर नगरपालिका १ बाहेकका वडा (२–९) तथा कविलासी नगरपालिका १, २ र ७ पर्दछन् ।
कृषिमा आधारित यस क्षेत्रका मतदाताहरू अहिले उखु काट्ने, दलहन र तेलहन बाली भित्र्याउने, गहुँबालीमा मलखाद गर्ने तथा हिउँदको फुर्सदमा मजदुरीका लागि विभिन्न स्थानमा जाने काममा व्यस्त देखिन्छन् । चुनावी सरगर्मी बढ्दै गएपनि मतदाताहरू भने दैनिकीका कामसँगै निर्वाचनको नतिजा कुन दिशामा जान्छ भन्ने चासोमा छन् ।




