काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका ९ बस्ने महोत्तरी सम्सी गाउँपालिका १ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका ३ घर भएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका १ बस्ने ३९ वर्षीय राम कुमार राई रहेका छन् ।
पक्राउ मध्ये जटाधरले बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ८० लाख रूपैयाँ तथा ठमराज र रामकुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जटाधरलाई भक्तपुर सूर्यविनायक नगरपालिका २ बाट, ठमराजलाई काठमाडौं महानगरपालिका १२ बाट र रामकुमारलाई ललितपुर महालक्ष्मी नगरपालिका ३ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




