रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका ४ का वडाध्यक्ष रामानन्द प्रसादलाई १४ वर्षीया बालिका अपहरण अभियोगमा जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत मकवानपुरकी न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम उनलाई थुनुवा पूर्जी दिई कारागार चलान गर्न आदेश गरेको हो ।
आदेशपछि प्रहरीले प्रसादलाई मकवानपुरस्थित भीमफेदी कारागार मा राखेको जनाएको छ । प्रसादविरुद्ध दुर्गाभगवती ४ छतौनाकी १४ वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
घटनासँग सम्बन्धित अन्य आरोपितहरू रान्धिर यादव, अनितादेवी यादव, मनतजिर यादव, मेनुकाकुमारी यादव र काजलकुमारी यादव हाल फरार रहेको प्रहरीको भनाइ छ । गत पुस २ गतेदेखि बेपत्ता ती बालिकाको अवस्था अझै अज्ञात छ ।
प्रहरीले दिएको जानकारी अनुसार, छतौनाकै २० वर्षीय दिलीप नाम गरेका युवकले पुस २ को राति मकवानपुरको हेटौँडाबाट बालिकालाई लिएर गएको आशंका गरिएको छ । त्यसयता दुवै जना सम्पर्कविहीन छन् ।
बालिका हराएलगत्तै उनका बुवा नेमलाल राय यादवले जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको इलाका प्रहरी कार्यालय गंगापिपरामा जाहेरी दिएका थिए ।
प्रहरीले फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको र घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




