काठमाडौं । अभिनेत्री तथा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफूमाथि भइरहेको चरित्र हत्या र दुर्व्यवहार प्रति कडा आक्रोश पोखेकी छन् ।
उम्मेदवारी दर्तासँगै आफूमाथि भइरहेका व्यक्तिगत आक्रमणको विरुद्धमा उनले ‘अति गर्नु अत्याचार नगर्नु’ भन्दै कडा चेतावनी पनि दिएकी छन् । निशाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै आफूलाई गाली गर्ने र अपमान गर्नेहरूको नाम नलुकाई सार्वजनिक गरेकी छिन् ।
उनी भन्छिन्– ‘यसपालि मैले नामहरू लुकाएको छैन । किनकि कहिलेकाहीँ घृणा गुमनाम भएर होइन, खुलेआम सामान्यीकृत भएर फैलिन्छ ।’ निशाले महिलाहरू नेतृत्वमा आउन खोज्दा समाजले उनीहरूको क्षमता भन्दा बढी निजी जीवन र चरित्रमाथि प्रहार गर्ने गरेको उनको गुनासो छ ।
उनले यो आफ्नो मात्र नभई सार्वजनिक जीवनमा रहेका धेरै महिलाहरूको साझा पीडाको रूपमा चित्रण गरेकी छिन् । उनी प्रश्न गर्छिन्, ‘महिलाले नेतृत्व लिन खोज्दा सबैभन्दा पहिले उनको नीति होइन, किन उनको निजी जीवन छानिन्छ ? उनको क्षमता होइन, किन उनको चरित्रमाथि प्रश्न उठाइन्छ ?’
आफू यस्ता शब्दहरूबाट विचलित नहुने बताएकी उनी अघि भन्छिन्, ‘हामी कस्तो राजनीतिक संस्कृति निर्माण गर्दैछौँ ? असहमति गर्ने तर सम्मान जोगाउने ? कि असहमतिलाई अपमानमा बदल्ने ?’ उनले सामाजिक सञ्जालमा प्रयोग हुने भाषाले नै लोकतन्त्रको स्तर मापन गर्ने उल्लेख गरेकी छिन् । निशाले आफ्नो यो पोस्ट मत माग्नका लागि नभएको समेत स्पष्ट पारेकी छन् ।






