काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फकी उम्मेदवार तथा अभिनेत्री निशा अधिकारीले निर्वाचनमा पराजित भएपछि पनि आफ्नो राजनीतिक यात्रा जारी रहने संकेत गरेकी छन् । आफ्नो फेसबुक पेज मार्फत सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिँदै उनले हारपछि आफ्नो यात्रा समाप्त नभएको बताएकी हुन् ।
गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल ३० हजार ७ सय ३७ मत पाएर विजयी हुँदा मात्र ९१ मत प्राप्त गरिन् ।
‘लोकतन्त्रमा चुनाव केवल जित-हारको प्रतिस्पर्धा मात्र होइन, विचार, एजेण्डा र विश्वासको अभ्यास पनि हो’, उनले लेखेकी छन्, ‘यस चुनावमा मलाई साथ दिनुहुने, प्रोत्साहन गर्नुहुने, सुझाव दिनुहुने र आलोचना गरेर अझ राम्रो बनाउन खोज्नुहुने सबैलाई म हृदयदेखि धन्यवाद दिन्छु ।’
उनले विजेता पोखरेललाई समेत हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । प्रतिनिधि सभाभित्र बलियो प्रतिपक्ष कमजोर हुने सम्भावनालाई इंगित गर्दै उनले यस्तो अवस्थामा नागरिकको आवाजलाई जोगाउन सडकबाट बलियो लोकतान्त्रिक प्रतिपक्षको भूमिकाको खाँचो समेत औल्याइन् ।
उनको भनाइ छ, ‘चुनावमा महिलाको पराजयलाई निरुत्साहित गर्न नहुने समेत उनको विचार छ । ‘बरु यसले हामीलाई अझ धेरै काम गर्नुपर्ने सन्देश दिएको छ ।’






