बारा । बाराको सिम्रौनगढ क्षेत्र यतिबेला आलु उत्पादनका लागि चिनिन्छ, तर यसै क्षेत्रमा किसानहरू गम्भीर आर्थिक संकटको सामना गरिरहेका छन् । राम्रो उत्पादन भएपनि उचित बजार नपाउँदा किसानको मेहनत मूल्यहीन जस्तै बनेको छ ।
सिम्रौनगढ बजार, खजानी, अमृतगञ्ज, जानकीनगर, झवानी, कमलपुर, पर्सा, सतुवाही, अमरपुर, हरिहरपुर, सलेमपुर, देवापुर टेटा, गङ्गानगर, कोतवाली इँटवाल, नैका टोला लगायत पचरौता क्षेत्रका किसानहरूले करिब १५ सय बिघा जमिनमा आलु खेती गरेका छन् । तर उत्पादन बिक्री गर्दा लागत समेत उठाउन नसक्ने अवस्था आएको उनीहरू बताउँछन् ।
किसानका अनुसार प्रतिक्विन्टल २५ सयदेखि ३६ सय रुपैयाँसम्ममा बीउ खरिद गरिएको थियो । त्यसमा मल, विषादी र श्रम लागत जोड्दा कम्तीमा दुई हजार रुपैयाँ प्रतिक्विन्टलमा बिक्री भए मात्र नाफा हुने अवस्था थियो । तर अहिले बजारमा आलुको मूल्य घटेर ९०० देखि १२०० रुपैयाँ प्रतिक्विन्टलमा सीमित हुँदा किसानहरू ठूलो घाटामा परेका छन् ।
यसबीच अर्को चुनौती पनि थपिएको छ, चैते धान रोप्न खेत खाली गर्नुपर्ने दबाब । आलु निकालिसकेपछि खेत सफा गर्न किसानहरूले दैनिक २०० देखि ४०० रुपैयाँसम्म ज्याला तिर्नुपरेको छ । तर आलु बिक्रीबाट त्यो खर्च समेत उठ्न नसकेको गुनासो उनीहरूको छ ।
किसानहरूले बजार अभावको मुख्य कारणका रूपमा भारतबाट हुने आलु आयात, स्थानीय स्तरमा व्यापारीको कमी तथा बाहिरी जिल्लामा निकासी नहुनुलाई औंल्याएका छन् । “उत्पादन छ, तर बजार छैन,” भन्ने पीडा यहाँका किसानको साझा आवाज बनेको छ ।
अर्कोतर्फ, कोल्ड स्टोरेजहरू भरिएका कारण धेरै किसानले घरमै आलु भण्डारण गर्न बाध्य भएका छन् । लामो समयसम्म भण्डारण गर्दा कुहिने जोखिम भएपनि मूल्य बढ्ने आशामा केही किसानले जोखिम मोलेका छन् ।
यस क्षेत्रमा लालका, लाल गुलाब, शिव चालीस र कपुरी जातका आलु उत्पादन गरिएको छ । उत्पादन राम्रो भएपनि बजार व्यवस्थापन कमजोर हुँदा किसानको श्रम र लगानी दुवै संकटमा परेको देखिन्छ ।
स्थानीय किसानहरू अब सरकारले बजार व्यवस्थापन, उचित मूल्य निर्धारण र निकासीका लागि पहल गर्नुपर्ने माग गरिरहेका छन् । अन्यथा, आगामी सिजनमा आलु खेती प्रति किसानको आकर्षण घट्ने चिन्ता बढ्दो छ ।






