काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा १५ रूपैयाँ बढाइएको जानकारी दिएको हो ।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ८६ र तेस्रो वर्गका लागि एक सय ८७ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमश: एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ रुपैयाँ र एक सय ६७ रुपैयाँ पुगेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौं, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ ।
पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुना साथ तत्काल मूल्य घटाइने समेत निगमले जनाएको छ ।






