काठमाडौं । सिम्रिक एयरले गुणस्तर व्यवस्थापन प्रणालीका लागि विश्वव्यापी मान्यता प्राप्त ISO 9001:2015 प्रमाणपत्र हासिल गरेको छ । कम्पनीका अनुसार, यो प्रमाणपत्र प्राप्त गर्ने सिम्रिक एयर नेपालकै पहिलो हेलिकप्टर सेवा प्रदायक बनेको हो ।
२०२६ अप्रिल ६ मा जारी गरिएको उक्त प्रमाणपत्रले कम्पनीका हेलिकप्टर यातायात सेवा, यात्रु तथा कार्गोका लागि चार्टर उडान, विमान मर्मतसम्भार, सुरक्षा व्यवस्थापन प्रणाली तथा ग्राउण्ड ह्यान्डलिङ र सपोर्ट सेवाहरूलाई समेटेको छ ।
कम्पनीका अनुसार यो प्रमाणपत्रले सिम्रिक एयरका सबै सञ्चालन गतिविधिहरू अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन मापदण्डअनुसार सञ्चालन भइरहेको पुष्टि गर्छ ।
ISO 9001:2015 एक अन्तर्राष्ट्रिय मापदण्ड हो, जसले गुणस्तर व्यवस्थापन प्रणालीका आवश्यकताहरू निर्धारण गर्दछ र निरन्तर सेवा गुणस्तर तथा ग्राहक सन्तुष्टिमा जोड दिन्छ । सिम्रिक एयरले हाल उद्धार उडान, चार्टर सेवा तथा देशका दुर्गम क्षेत्रमा विभिन्न हवाई मिशनहरू सञ्चालन गर्दै आएको छ ।






