१. देशको कायापलट गर्न इतिहासले एउटा अदम्य साहस भएको नायक खोज्छ । आज बालेन शाहले चालेका कदमहरूले धेरैलाई दशकौँ अघिको सिङ्गापुर सम्झाएको छ । सिङ्गापुरलाई आजको आधुनिक स्वर्ग बनाउन लि क्वान युले सबैभन्दा ठूलो युद्ध आफ्नै पुराना साथीहरू र राजनीतिले गाँजेको ‘ट्रेड युनियन’ विरुद्ध लड्नु परेको थियो ।
जहाँ महिनाको ११ दिन हड्ताल हुन्थ्यो र सफाई कर्मीहरूले काम नगरी सुविधा मात्र खोज्थे, त्यहाँ लि क्वान युले एउटा दृढ अठोट लिए, “अब काम नगर्नेले सुविधा पाउने छैन ।” उनले ‘पर्फर्मेन्स’का आधारमा मात्र तलब दिने नीति ल्याएर कामचोर प्रवृत्तिको मेरुदण्ड नै भाँँचिदिए ।
त्यो समय चानचुने थिएन; सडकमा आन्दोलनको राँको बलेको थियो, तर लि क्वान यु झुकेनन् । उनले स्पष्ट गर्दिए कि जसले काम छोडेर सडक रोज्छ, उसको जागिर सदाका लागि जान्छ, तर जो फर्किएर काममा आउँछ, उसलाई स्वागत छ ।
२. यो कुनै तानाशाही थिएन, बरु राष्ट्र निर्माणको एउटा कठोर तर आवश्यक ‘सर्जरी’ थियो । फलस्वरुप, ट्रेड युनियनको अराजकता अन्त्य भयो र सिङ्गापुरमा विकासको बाढी नै आयो । त्यसको एकै वर्षमा ५२ वटा ठूला उद्योग खुले र हजारौँले रोजगारी पाए । एउटा साहसी निर्णयले टापु जत्रो देशलाई विश्वको आर्थिक केन्द्र बनाइदियो ।
३. आज नेपाल पनि त्यस्तै ऐतिहासिक मोडमा छ । वर्षौँदेखिको बेथिति, राजनीतिक भागबन्डा र ‘जे गरे पनि हुन्छ’ भन्ने अराजक सोचलाई बालेनले लि क्वान युको जस्तै दृढताका साथ चुनौती दिइरहेका छन् ।
४. हो, परिवर्तनको सुरुवाती चरणमा कतिपय निर्णयहरू कठोर र “निर्मम” लाग्न सक्छन्, तर एउटा कुरा बिर्सनु हुँदैन, सडेको घाउ ठिक पार्न कहिलेकाहीँ चिरफार गर्नैपर्छ । आज बालेनले व्यक्ति वा पार्टीको स्वार्थ हेरेका छैनन्, उनले त देशको दीर्घकालीन भविष्य र आगामी पुस्ताको सुखका लागि कठिन बाटो रोजेका छन् ।
५. विकासको बाटो सधैँ फूलैफूलले भरिएको हुँदैन । लि क्वान युले हिजो सिङ्गापुरमा जे गरे, आज बालेनले त्यही समृद्धिको जग बसाल्दै छन् । यदि हामीले दलीय चस्मा फुकालेर देशको हित हेर्ने हो भने, आजका यी साना दुख र कठोर कदमहरूले नै भोलि सुनौलो र विकसित नेपालको ढोका खोल्नेछन् ।
इतिहास साक्षी छ, जसले प्रणाली सुधार्ने हिम्मत गर्छ, उसैले भविष्य बदल्छ । बालेनको यो यात्रामा हामीले साथ दिनु भनेको सुन्दर र व्यवस्थित नेपालको पक्षमा उभिनु हो ।
अस्तु ।






