आज बिहान उसले बोलेको एक वाक्य अझै मनभित्र घुमिरहेको छ । तर यो वाक्य मैले होइन, उसले नै भन्यो- त्यो साथी, जससँग हिजोसम्म सबै कुरा सहज थियो, जससँग हाँसो बिना कारण पनि बाँडिन्थ्यो, र जससँग मौनता पनि अप्ठ्यारो लाग्दैनथ्यो ।
आज बिहान उसले भन्यो- “अब हामी नबोल्ने है ।”
त्यो एक वाक्य थियो । तर मलाई लाग्यो, त्यसले हाम्रो बीचको पुरै सहजता एकैछिनमा रोकिदियो ।
म केही बोल्न सकिन ।
किनभने कहिले काहीँ जवाफ दिनुपर्ने ठाउँमा पनि मन खाली हुन्छ ।
हामी त त्यस्ता साथी थियौँ- हरेक दिन कुरा हुने, अफिसका साना कुरादेखि लिएर अनावश्यक मजाकसम्म बाँडिने । कहिले काहीँ त दिन राम्रो वा नराम्रोभन्दा पनि उसको आवाज सुन्नु नै दिन पूरा भएको जस्तो लाग्थ्यो । तर आज बिहान त्यही सम्बन्धलाई उसले एउटा सीमामा राखिदियो ।
म रिसाएको छैन ।
तर मनभित्र अनौठो खालीपन छ
जसलाई न शब्दले भर्न सकिन्छ, न मौनताले सम्हाल्न सकिन्छ ।
अफिसबाट फर्केर ढोकाबाट भित्र पस्दा पनि त्यो वाक्य नै दिमागमा थियो । जुत्ता खोल्दा पनि, कोठामा बस्दा पनि, सबै कुरा उस्तै थियो तर भित्र केही चिसो जस्तो फैलिएको थियो ।
कुर्सीमा बसेँ । मोबाइल हातमा लिए । उसको नाम हेरेँ । टाइप गर्न खोजेँ, तर शब्द आएनन् । किनभने उसले बिहानै एउटा दूरी बनाइसकेको थियो- स्पष्ट तर नबोलीकन चोट दिने गरी ।
झ्यालबाट बाहिर हेरेँ । साँझ ढलिसकेको थियो । सडकमा मान्छेहरू आफ्नै जीवन लिएर हिँडिरहेका थिए । सबैको आफ्नै कथा थियो, तर मेरो कथा भने एकै वाक्यमा अड्किएको थियो- “अब हामी कुरा नगर्ने है ।”
मलाई थाहा छ, म धेरै बोल्दिन । म पहिले सुन्छु, बुझ्छु, अनि मात्र बोल्न खोज्छु । तर आज पहिलो पटक लाग्यो- सायद यही स्वभाव पनि कसैको लागि भारी हुन सक्छ । तर के एक दिनको कुरा यति सजिलै सम्बन्धलाई टाढा बनाइदिन सक्छ ?
सायद समस्या ठूलो थिएन । सायद हामी बीचको बुझाइ एकछिनका लागि मात्र फरक भयो । तर कहिले काहीँ एउटा छोटो वाक्यले पुरानो सहजतालाई पनि चुपचाप टाढा बनाइदिन्छ ।
म उठेँ ।
झ्यालतिर गए ।
बाहिर हावा चलिरहेको थियो । त्यो हावाले अनुहार छोयो, तर मन हल्का भएन ।
म उसलाई दोष दिन चाहन्न ।
म आफूलाई पनि दोष दिन चाहन्न ।
किनभने हामी दुवै त्यस्तै थियौँ- बुझ्ने प्रयास गर्ने, तर कहिले काहीँ शब्दभन्दा पहिले मौनता रोज्ने ।
सायद आजको दूरी अन्त्य होइन ।
सायद यो केवल एउटा दिनको गलत बुझाइ हो ।
तर मनभित्र एउटा कुरा भने बाँकी छ- हामी बीचको सहजता मात्र होइन, हामीले सँगै बिताएका साना-साना पलहरू पनि साँचो थिए ।
र सायद त्यसैले आजको यो मौनता अझै भारी लागिरहेको छ ।






