धनुषा । मधेश प्रदेशमा यस वर्ष मालदह जातको आँपको उत्पादन घटेसँगै बजारमा यसको मूल्य उल्लेखनीय रूपमा बढेको छ । तर खुद्रा बजारमा मूल्य दोब्बरभन्दा बढी पुगे पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म नपुगेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
दुई साताअघि प्रतिकेजी करिब ४० रुपैयाँको दरमा बिक्री भइरहेको मालदह आँप अहिले बजारमा प्रतिकेजी १०० रुपैयाँसम्म पुगेको छ । बगैँचामा मालदह आँपको उत्पादन सकिन लागेपछि आपूर्ति घटेको र त्यसैको प्रभाव मूल्यमा परेको व्यापारीहरू बताउँछन् ।
तर किसानहरूका अनुसार मूल्य बढे पनि आफूहरूले उत्पादन बिक्री गर्ने बेला निकै कम मूल्य पाएका थिए । अहिले बजारमा महँगो मूल्यमा बिक्री भइरहेको आँपबाट व्यापारी लाभान्वित भएपनि उत्पादक किसान त्यसबाट वञ्चित भएको उनीहरूको भनाइ छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ का किसान उमेश यादवले किसान र उपभोक्ताबीचको मूल्य अन्तर अस्वाभाविक रूपमा बढेको बताए । उनका अनुसार किसानबाट कम मूल्यमा खरिद गरिएको आँप बजारमा दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । उनले यसमा प्रभावकारी बजार अनुगमन र मूल्य नियमन आवश्यक रहेको बताए ।
यस्तै मिथिला नगरपालिकाका किसान धनिकलाल महतोले असार मध्यपछि धान रोपाइँ सुरु हुने भएकाले किसानले आँप लामो समयसम्म बगैँचामा राख्न नसक्ने अवस्था रहेको बताए । यही बाध्यताको फाइदा उठाउँदै व्यापारीहरूले उत्पादन सस्तोमा खरिद गर्ने गरेको उनको आरोप छ ।
उनले किसानले उचित मूल्य नपाउनुको मुख्य कारण शीतभण्डार, प्रशोधन केन्द्र र व्यवस्थित बजार प्रणालीको अभाव रहेको बताए । उत्पादन भण्डारण गर्ने वा प्रशोधन गर्ने सुविधा नहुँदा किसान तत्काल बिक्री गर्न बाध्य हुने र त्यसले उनीहरूको मोलतोल गर्ने क्षमता कमजोर बनाउने उनको भनाइ छ ।
किसानहरूले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले शीतभण्डार निर्माण, आँप प्रशोधन उद्योग स्थापना तथा कृषि उपजको प्रभावकारी बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।
यता आँप व्यवसायीहरूका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ भने मालदह जातको आँप पनि अब करिब १० दिनसम्म मात्र उपलब्ध हुनेछ । त्यसपछि बजारमा कलकत्तिया र आम्रपाली जातका आँपको आपूर्ति सुरु हुने अपेक्षा गरिएको छ ।
कृषि क्षेत्रका जानकारहरूका अनुसार उत्पादनदेखि बजारसम्मको आपूर्ति शृङ्खला व्यवस्थित गर्न नसक्दा वर्षेनि किसानले कम मूल्य र उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने अवस्था दोहोरिँदै आएको छ । उनीहरू दीर्घकालीन समाधानका लागि भण्डारण, प्रशोधन र बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिन्छन् ।






