काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्र कमजोर बन्दै गएको दाबी गर्दै वास्तविक लोकतन्त्रको स्थापना र राष्ट्रिय संकटको समाधानका लागि आफूहरूले ‘अग्रगामी मोर्चा’ गठन गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै साहले देशलाई संकटतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्दै त्यसबाट मुलुकलाई निकास दिन मोर्चा गठन गरिएको स्पष्ट पारे । उनले आफूहरू अहंकार र एकाधिकारमा आधारित राजनीति नभई सहअस्तित्व, सहकार्य र सर्वस्वीकार्य शासन व्यवस्थाको पक्षमा रहेको बताए ।
“उनीहरू अहंकारयुक्त नेपाल चाहन्छन्, हामी अहंकारमुक्त नेपाल बनाउन चाहन्छौं । उनीहरू एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, हामी सहअस्तित्वमा आधारित सहकार्य चाहन्छौं,” साहले भने, “हामी सर्वसत्तावाद होइन, सर्वस्वीकार्य शासन चाहन्छौं। अहिले लोकतन्त्रको सबलीकरण होइन, सर्वस्वहरण भएको छ । त्यसैले वास्तविक लोकतन्त्र स्थापित गर्न चाहन्छौं ।”
साहले अहिले ‘फेक फेस’ मार्फत ‘फेक शासन’ लाद्ने प्रयास भइरहेको आरोप लगाउँदै आफूहरू वास्तविक नेतृत्व र जनउत्तरदायी शासनको पक्षमा रहेको बताए । उनले वर्तमान राजनीतिक संघर्षलाई राष्ट्रिय स्वाधीनता र बाह्य प्रभावबीचको लडाइँका रूपमा व्याख्या गर्दै अग्रगामी मोर्चाले प्रतिगमन र तानाशाही प्रवृत्तिको प्रतिकार गर्ने दाबी गरे ।
उनका अनुसार देशमा भएका विभिन्न आन्दोलन र परिवर्तनका उपलब्धि सीमित समूहको स्वार्थमा प्रयोग हुँदै आएका छन् । जनतालाई परिवर्तनको वास्तविक केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उनले विगतका राजनीतिक आन्दोलनको गम्भीर समीक्षा आवश्यक रहेको बताए ।
‘टुटफुट होइन, एकताको राजनीति आवश्यक’
मोर्चामा आबद्ध सबै दल र नेताहरूलाई व्यक्तिगत तथा पार्टीगत स्वार्थभन्दा माथि उठेर सहअस्तित्व र राष्ट्रिय एकताको भावनाका साथ अघि बढ्न साहले आग्रह गरे । उनले भने, “टुटफुट र विभाजन होइन, एकता र ध्रुवीकरणको राजनीति गरिनुपर्छ । घृणा र विध्वंसको राजनीतिलाई प्रेम, सद्भाव र निर्माणको राजनीतिमा परिणत गर्नुपर्छ ।”
विगतका गठबन्धन असफल हुनुमा नेतृत्वको इमानदारी, वैचारिक स्पष्टता, संकीर्ण सोच र व्यक्तिवादी प्रवृत्ति प्रमुख कारण रहेको उनको दाबी थियो । अब एकअर्कालाई प्रयोग गर्नेभन्दा जोड्ने र सहकार्य गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने उनले बताए ।
‘सरकार फेरिए पनि जनताको अवस्था फेरिएन’
साहले मुलुकमा सरकार परिवर्तन भएपनि जनताको दैनिक जीवनमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गरे । उनले देशबाट युवाको पलायन नरोकिएको, सरकारी सेवा लिन नागरिकले लामो लाइन बस्नुपरेको, व्यापारी तथा व्यवसायी पलायन भइरहेको, किसान निराश रहेको र महँगी बढिरहेको दाबी गरे ।
“आज देश छोड्ने क्रम रोकिएको छैन, सेवा लिनेको लाइन लागेकै छ । व्यापारी व्यवसायीहरू पलायन हुँदैछन् । किसान निराश छन् । मूल्यवृद्धि बढेको बढ्यै छ । देशको अस्तित्व नै संकटमा छ,” उनले भने । यिनै समस्याको समाधान खोज्न आफूहरूले अग्रगामी मोर्चा निर्माण गरेको साहको भनाइ थियो ।
सत्ता भागबन्डाका लागि मोर्चा होइन : साह
साहले अग्रगामी मोर्चा सरकार बनाउने वा गिराउने तथा पद र सत्ता बाँडफाँटका लागि गठन नभएको स्पष्ट पारे । उनका अनुसार मोर्चाको उद्देश्य मुख्यमन्त्री, मन्त्री, प्रधानमन्त्री वा पार्टी नेतृत्वको भागबन्डा गर्नु नभई देशमा देखिएका दीर्घकालीन समस्या समाधानका लागि साझा राजनीतिक प्रयास गर्नु हो ।
“हाम्रो एकता कुनै पद प्राप्तिका लागि होइन, सत्ताको साझेदारीका लागि पनि होइन । यो संकट समाधानका लागि गरिएको महासहकार्य हो,” साहले भने, “यो सरकार बनाउन र गिराउनका लागि बनेको होइन । यो देश बनाउन पवित्र मनबाट गरिएको प्रयास हो ।”
उनले आफूहरू कुनै व्यक्तिगत स्वार्थ वा राजनीतिक हिसाब–किताबका आधारमा एक ठाउँमा नआएको दाबी गर्दै देशको वर्तमान परिस्थितिले सहकार्यका लागि बाध्य बनाएको बताए ।
‘हिमालको हित, पहाडको प्रगति र मधेसको मान’
साहले अग्रगामी मोर्चाले हिमालको हित, पहाडको प्रगति र मधेसको सम्मानलाई समान रूपमा अघि बढाउने दाबी गरे । उनका अनुसार मोर्चा समग्र देशको हित चाहने राजनीतिक शक्तिहरूको साझा मञ्च हो । उनले मोर्चामा आबद्ध नेताहरू लामो राजनीतिक संघर्षबाट आएका र परिवर्तनका लागि संघर्ष गरेको दाबी गर्दै नयाँ राजनीतिक अभियानको रूपमा अघि बढ्ने बताए ।
उनले मोर्चा विगतको राजनीतिक अभ्यासको निरन्तरता नभई नयाँ राजनीतिक दिशाको सुरुवात भएको दाबी गरे । “यो पुरानोको निरन्तरता होइन, यो क्रमभंग हो । यो होस र जोससहितको मोर्चा हो,” साहले भने ।
समानता र न्यायका लागि आफूहरूको संघर्ष रहेको उल्लेख गर्दै उनले देश र जनतामाथि विभेद तथा अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे । अग्रगामी मोर्चाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र न्यायमा आधारित राजनीतिक व्यवस्थाका लागि काम गर्ने उनको भनाइ थियो ।






