काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले न्यौपानेलाई पार्टीमा स्वागत गरेका हुन् ।
थापाले उनलाई टीका र खादा लगाएर कांग्रेसको सदस्यता प्रदान गरेका थिए । रास्वपा परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टीका रूपमा कांग्रेसमा आबद्ध हुन पाउँदा खुसी लागेको बताए ।
मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले देशलाई सही दिशामा अघि बढाउन कांग्रेसले खेलिरहेको भूमिकाबाट प्रभावित भएर आफू पार्टीमा आबद्ध भएको बताए ।
कांग्रेस सभापति गगन थापाको नेतृत्वमा पार्टीले देशलाई निकास दिने प्रयास गरिरहेको उल्लेख गर्दै न्यौपानेले आगामी दिनमा कांग्रेसमा सक्रिय भएर जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टी प्रवेश कार्यक्रममा सभापति थापाले न्यौपानेलाई कांग्रेसका नेता तथा कार्यकर्तासँग समन्वय र सहकार्य गर्दै संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे । न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा पार्टीको संगठन विस्तार र जनसम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने सभापति थापाले बताए ।






