एजेन्सी । प्रेमिकालाई भेट्न आधा राति उनको घर पुगेका एक युवकलाई गाउँलेले नियन्त्रणमा लिएर परिवारको सहमतिमा बिहान मन्दिरमा विवाह गराइदिएका छन् ।
भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाको श्रीरामपुर निवासी विजय फौजदार आफ्नी प्रेमिका सुमन कुमारीलाई भेट्न भितिहरवा गाउँ पुगेका थिए । उनी राति प्रेमिकाको घर आसपास पुगेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।
घटनापछि गाउँमा स्थानीयको भीड जम्मा भएको थियो । स्थानीयले दुवै पक्षका परिवारलाई खबर गरेपछि राति करिब १ बजेदेखि विवाहका विषयमा छलफल सुरु भएको थियो ।
छलफलका क्रममा विजय र सुमनले आफूहरूबीच विगत दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र आपसी इच्छाअनुसार विवाह गर्न चाहेको बताएका थिए । उनीहरूको इच्छाबारे जानकारी पाएपछि दुवै पक्षका परिवार पनि विवाहका लागि सहमत भएका थिए ।
राति १ बजेदेखि सुरु भएको छलफल तथा सहमतिको प्रयास बिहान करिब ५ बजेसम्म चलेको थियो । त्यसपछि गाउँले र दुवै पक्षका परिवारको सहमतिमा विजय र सुमनलाई भितिहरवा मन्दिर लगेर विवाह गराइएको हो ।
भितिहरवा पञ्चायतका सचिव नन्दकिशोर चौरसियाले घटनाबारे जानकारी पाएपछि आफू पनि घटनास्थलमा पुगेको बताए । उनका अनुसार दुवै पक्षसँग कुराकानी गर्दा युवक–युवतीले आफूखुसी विवाह गर्न चाहेको बताएका थिए । त्यसपछि परिवारको सहमतिमा उनीहरूको मन्दिरमा विवाह गराइएको चौरसियाले जानकारी दिए ।




