सिराहा । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक यात्रामा देशका विभिन्न भूगोलबाट निर्वाचन जितेर प्रधानमन्त्री बन्ने अवसर आफूले मात्र पाएको दाबी गरेका छन् ।
सिराहामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले राजधानी, रोल्पा, सिराहा, चितवन, गोरखा हुँदै पछिल्लो समय रुकुम पूर्वबाट समेत निर्वाचन जितेको स्मरण गरे ।
हिमाल, पहाड, मधेस र तराईका विभिन्न क्षेत्रबाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसरलाई उनले आफ्नो राजनीतिक जीवनको विशिष्ट रेकर्डका रूपमा प्रस्तुत गरे ।
‘मैले एउटा रेकर्ड बनाएको छु । म पहिला राजधानीबाट, रोल्पाबाट, सिराहाबाट, चितवनबाट र गोरखाबाट निर्वाचित भए,’ उनले भने, ‘अहिले रुकुम पूर्वबाट निर्वाचित भएको छु ।’
देशमा पूर्वप्रधानमन्त्रीको संख्या बढिरहेको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले पछिल्लो निर्वाचनमा आफू मात्रै निर्वाचित हुने पूर्वप्रधानमन्त्री भएको दाबी गरे । निर्वाचन जित्ने मामिलामा आफू भाग्यमानी रहेको उनको भनाइ थियो ।
‘यो पटकको निर्वाचनमा निर्वाचित हुने र विजयी हुने एउटै मात्रै प्रधानमन्त्री बिचरा प्रचण्ड मात्रै हो,’ उनले भने, ‘दायाँबायाँ हेर्दा कोही छैनन् । त्यस्तो अवसर पनि मैले नै प्राप्त गरेँ ।’
गर्मीबीच कार्यकर्ताको भीड देखेपछि उत्साहित
सिराहामा अत्यधिक गर्मीका बाबजुद प्रशिक्षण कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता उपस्थित भएपछि प्रचण्ड उत्साहित देखिएका थिए ।
मिर्चैया नगरपालिकास्थित एक विद्यालयको कार्यक्रम सकेर सिराहा पुगेका उनले गर्मी र पार्टीप्रति कार्यकर्ताको उत्साह घटेको भन्ने चर्चाका कारण कार्यक्रममा उपस्थिति कम हुने अनुमान गरेको बताएका थिए ।
तर, कार्यक्रमस्थलमा खुट्टा राख्ने ठाउँ समेत नहुने गरी कार्यकर्ता उपस्थित भएपछि उनले धन्यवाद व्यक्त गरे । ‘तपाईंहरूले गर्मीको प्रवाह नगरी पार्टीप्रति फेरि एकपटक भरोसा र विश्वास व्यक्त गर्नुभयो,’ उनले भने ।
प्रचण्डले सिराहासँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको समेत स्मरण गरे । पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्धको तयारी र शान्ति प्रक्रियासम्म सिराहासँग आफ्नो राजनीतिक सम्बन्ध जोडिएको उनको भनाइ थियो ।
दोस्रो संविधानसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट आफूलाई निर्वाचित गराएर दोस्रोपटक प्रधानमन्त्री बन्ने अवसर दिएको भन्दै उनले सिराहावासीप्रति आफू सधैँ ऋणी रहने बताए ।
‘संविधान र गणतन्त्रको सुदृढीकरणका लागि नयाँ संघर्ष’
सम्बोधनका क्रममा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि धारणा राखे । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नयाँ संघर्ष सुरु भएको दाबी गरे ।
भदौ २४ गते भएको घटनालाई पार्टीको केन्द्रीय संयोजन समितिले ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासको कालो दिन’ घोषणा गरेको उनले जानकारी दिए ।
प्रचण्डले उक्त दिन संविधान र राष्ट्रिय स्वाधीनताविरुद्ध प्रतिक्रान्तिकारी षड्यन्त्र भएको आरोप लगाए । केही घण्टाभित्रै सिंहदरबारलगायत ऐतिहासिक धरोहर, महत्वपूर्ण दस्ताबेज, पार्टी कार्यालय र प्रहरी कार्यालयमा विध्वंस मच्चाइएको उनको भनाइ थियो ।
भदौ २३ को आन्दोलनबारे प्रचण्डको फरक धारणा
भदौ २३ गते भएको प्रदर्शनबारे भने प्रचण्डले आन्दोलनको सुरुवाती चरण सकारात्मक रहेको बताए । उनका अनुसार त्यस दिन दिउँसोसम्मको आन्दोलन युवाहरूले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा उठाएको आवाजका रूपमा रहेको थियो ।
सञ्चारमाथिको प्रतिबन्धविरुद्ध समेत प्रदर्शन केन्द्रित रहेको उनले बताए । तर, दिउँसो करिब २ बजेपछि आन्दोलनले हिंसात्मक रूप लिएको र त्यसमा घुसपैठ भएपछि अवस्था बिग्रिएको प्रचण्डको दाबी छ ।
‘२३ गते दिउँसोसम्म त्यो आन्दोलन युवाहरूको भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा थियो । सञ्चारमाथिको प्रतिबन्धविरुद्ध थियो,’ उनले भने, ‘तर, २ बजेपछि जब त्यसले हिंसात्मक रूप लियो र घुसपैठ भयो, तब मानिसहरू मारिने परिस्थिति बन्यो ।’
प्रचण्डले पछिल्ला घटनाक्रमलाई संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतासँग जोड्दै पार्टीले आगामी दिनमा थप राजनीतिक संघर्ष अघि बढाउने संकेत समेत गरेका छन् ।




