जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा बेरुजुको चाङ देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार उपमहानगरपालिकाको अद्यावधिक बेरुजु रकम १ अर्ब ७ करोड ४१ लाख ३० हजार रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाको आय तथा व्ययतर्फ कुल ३ अर्ब ९३ करोड २५ लाख ३ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । सोही आर्थिक वर्षमा मात्रै ५ करोड ५४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको बेरुजुमध्ये ८८ लाख ८५ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ करोड ९५ लाख ७७ हजार रुपैयाँको प्रमाण तथा कागजात पेस गर्नुपर्ने, १ करोड ७ लाख २४ हजार रुपैयाँ नियमित गर्नुपर्ने र १ करोड ६२ लाख ८६ हजार रुपैयाँ पेस्की बाँकी रहेको छ ।
अघिल्लो वर्षसम्म उपमहानगरपालिकाको बेरुजु १ अर्ब १ करोड ८६ लाख ५८ हजार रुपैयाँ कायम थियो । त्यसमा आर्थिक वर्ष २०८१/८२ को ५ करोड ५४ लाख ७२ हजार रुपैयाँ बेरुजु थपिएपछि अद्यावधिक बेरुजु १ अर्ब ७ करोड ४१ लाख ३० हजार रुपैयाँ पुगेको हो ।
विविध खर्च र इन्धनमा प्रश्न
उपमहानगरपालिकाको आन्तरिक आय १६ करोड ४६ लाख ५६ हजार १७५ रुपैयाँ रहेको अवस्थामा विविध शीर्षकमा मात्रै १ करोड ४० लाख ३३ हजार रुपैयाँ खर्च गरिएको भन्दै महालेखापरीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार औचित्यका आधारमा मात्र खर्च गर्नुपर्ने व्यवस्था भएपनि विविध खर्चको औचित्य पुष्टि हुने प्रमाण तथा कागजात संलग्न नगरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सवारीसाधन सञ्चालन तथा पदाधिकारीको इन्धनमा मात्रै ३ करोड ३ लाख ५ हजार २८५ रुपैयाँ खर्च भएको छ । लेखापरीक्षणका क्रममा १७ वटा मोटरसाइकल बिना नम्बर प्लेट भेटिएको उल्लेख गर्दै सरकारी सवारीसाधनमा तत्काल कानुनबमोजिम सरकारी नम्बर प्लेट राखी व्यवस्थापन गर्न सुझाव दिइएको छ ।
पदाधिकारीका सुविधामा ३ करोडभन्दा बढी खर्च
जनकपुरधाम उपमहानगरपालिकाले पदाधिकारीका विभिन्न सुविधामा मात्रै ३ करोड १८ लाख ७७ हजार रुपैयाँ खर्च गरेको छ । प्रतिवेदनअनुसार यातायात सुविधामा ७० लाख ९२ हजार रुपैयाँ, टेलिफोन तथा मोबाइलमा ३४ लाख ५६ हजार रुपैयाँ, पत्रपत्रिका तथा इन्टरनेटमा ३४ लाख ५६ हजार रुपैयाँ, अतिथि सत्कारमा ७० लाख ६८ हजार रुपैयाँ, दसैँ भत्तामा १९ लाख ५ हजार रुपैयाँ र बैठक भत्तामा ८९ लाख रुपैयाँ खर्च भएको छ ।
ब्रोसर र वृत्तचित्र निर्माणमा पनि प्रश्न
उपमहानगरपालिकाले एक ब्रोसर, दुईवटा डकुमेन्ट्री र तीनवटा वृत्तचित्र निर्माणमा १४ लाख ७७ हजार ९४४ रुपैयाँ खर्च गरेको छ । तर ती सामाग्री निर्माणको लागत अनुमानको स्पष्ट आधार नदेखिएको र प्रसारण भएको भनिए पनि त्यसको आधिकारिक प्रमाण पेस हुन नसकेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।




