काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । स्थापनाकालदेखि नै पार्टीको नेतृत्व गर्दै आएका राउत पुन: अध्यक्षमा चयन भएका हुन् ।
जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगन्जमा हुँदैछ । महाधिवेशनअन्तर्गत बिहीबार उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम थियो । अध्यक्ष पदमा राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
उम्मेदवारको प्रारम्भिक सूचीअनुसार सात जना उपाध्यक्ष निर्वाचित हुने पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा (रौतहट), अनिता साह (धनुषा), अनिता मण्डल (सिरहा), जयकान्त राउत (सप्तरी), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) र माधवप्रसाद सिंह (पर्सा) ले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सोही पदका लागि राजकुमार यादव त्यागी (सिरहा), कमरुल्लाह अन्सारी (बारा), सञ्जयकुमार मिश्र (रुपन्देही), मदनेशकुमार चौधरी (सप्तरी), परमेश्वर मुर्मु (मोरङ), रोशन खातुन (बारा), हरपालसिंह सोडी (बाँके) र मनोहरी देवी बैठा (सर्लाही) ले उम्मेदवारी दिएका छन् ।
महासचिव पदमा ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोत्तरी) र सञ्जयकुमार यादव (सिरहा) ले उम्मेदवारी दिएका छन् । एक जना निर्वाचित हुने उपमहासचिव पदमा निर्मलकुमार मण्डल (सिरहा) र ललितचन्द्र मल्लिक (रौतहट) को उम्मेदवारी परेको छ ।
त्यस्तै, सात जना निर्वाचित हुने सचिव पदका लागि १० जनाले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवारहरूको विस्तृत विवरण पार्टीले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उल्लेख गरिएको छ ।




