जनकपुरधाम । मधेशको समग्र विकास, शान्ति र समृद्धिका लागि सरकारलाई दबाब दिने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य अमरेश सिंहले मेची–महाकाली पैदल यात्रा गर्ने घोषणा गरेका छन् ।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा सिंहले छठ पर्वको पारणका दिनदेखि माघे संक्रान्तिसम्म पैदल यात्रा गर्ने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले वर्षौंदेखि मधेश विभेदमा पर्दै आएको दाबी गर्दै वर्तमान रास्वपा नेतृत्वको सरकारबाट मधेशी जनताको ठूलो अपेक्षा रहेपनि ती अपेक्षामाथि कुठाराघात भइरहेको आरोप लगाए ।
मधेशी जनताले अत्यधिक मत दिएर रास्वपालाई झण्डै दुई तिहाइको अवस्थामा पुर्याए पनि सरकार पुरानै कांग्रेस, एमाले र माओवादीजस्तै विभेदकारी देखिएको उनको दाबी थियो । सरकारलाई सचेत गराउन मेची–महाकाली पैदल यात्रा गर्न लागेको उनले बताए ।
पत्रकारको जिज्ञासामा यात्राबारे जानकारी दिँदै सिंहले आफूले मधेशलाई ‘राइजिङ सन’का रूपमा हेर्न चाहेको बताए । त्यसैले छठ पर्वपछि उदाउँदो सूर्यको पूजा गरिने दिनबाट यात्रा प्रारम्भ गर्ने उनको भनाइ थियो ।
उनका अनुसार छठ पर्व समाप्त भएपछि जनकपुरधामस्थित ऐतिहासिक गंगासागरमा स्नान गरी त्यहाँको माटो, बालुवा र पानी माटोको गाग्रोमा लिएर जानकी मन्दिरबाट यात्रा अघि बढाइनेछ ।
मेची नदीमा पुगेर त्यहाँको माटो, बालुवा र पानी पनि गाग्रोमा मिसाइने तथा पैदल यात्रा गर्दै माघे संक्रान्तिका दिन महाकाली नदीमा उक्त सामग्री समर्पण गरिनेछ ।
जनकपुरधामबाटै यात्रा सुरु गर्नुको कारणबारे सिंहले यो परापूर्वकालदेखि ज्ञान र धर्मको भूमि रहेको बताए ।
‘यहाँ गरिएको वाचा पूरा हुन्छ । त्यसैले यहीँबाट यात्रा सुरु गर्ने अठोट लिएको हुँ,’ उनले भने । उनले यसअघि निर्वाचनका क्रममा जनकपुरधामस्थित तिरहुतिया गाछीमा आफूले मधेशी अनुहारका बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता जनाएको स्मरण गरे ।
उक्त प्रतिबद्धता पूरा भएको उल्लेख गर्दै उनले पैदल यात्राको उद्देश्य पनि पूरा हुने दाबी गरे । सिंहले मधेशलाई ‘राइजिङ सन’ अर्थात् शान्ति, समृद्धि र अधिकार सम्पन्न क्षेत्रका रूपमा विकास गर्न चाहेको बताए ।
मधेशी समुदायलाई राज्यका हरेक निकायमा जनसंख्याको आधारमा पहुँच, मेडिकल कलेज स्थापना, गाउँ–गाउँमा सडक तथा रोजगारीका अवसर र आधुनिक कृषि प्रणालीको विकास आफ्नो प्रमुख माग रहेको उनले बताए ।
सत्तारूढ दलकै सांसद भएर सरकारको विरोध गर्नुको औचित्यबारे पत्रकारले राखेको जिज्ञासामा सिंहले आफू पार्टी वा सरकारका व्यक्तिको विरोधमा नभई मधेशमाथि भएको विभेदको विरोधमा रहेको बताए ।
उनले महोत्तरीको बर्दिबासमा प्रस्तावित मेडिकल कलेज खारेज गरिएको, हुलाकी सडकका लागि पर्याप्त बजेट विनियोजन नगरिएको, मधेशको शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नभएको तथा राजदूत नियुक्तिमा समेत विभेद भएको आरोप लगाए ।
मधेशीलाई महत्वपूर्ण मन्त्रालय नदिई विवादित उद्योग मन्त्रालयको जिम्मेवारी दिएर राजनीतिक रूपमा कमजोर बनाउने प्रयास भएको दाबी गर्दै उनले त्यसको समेत विरोध गरेको बताए ।
सिंहले आफू सरकारमा रहेर पनि जनताको आवाज सरकारसमक्ष पुर्याउनु आफ्नो जिम्मेवारी भएको बताउँदै मधेशका समस्या समाधानका लागि निरन्तर आवाज उठाउने बताए ।




