काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका ४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएको छ । भान्सामा बासी खानेकुरा भेटिनुका साथै खानेपानीको स्रोत समेत फोहोर रहेको अनुगमन प्रतिवेदनले देखाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुलाई विभागले दिएको निर्देशनअनुसार अनुगमन गर्दा होटलमा विभिन्न कैफियत भेटिएका हुन् ।
विभागका अनुसार होटलमा खानामा प्रयोग हुने काठ र फलामका टुक्रा समेत भेटिएका थिए । होटलको सरसफाइको अवस्था निकै कमजोर रहेको, खानेपानीको स्रोत फोहोर ठाउँमा रहेको र भान्सामा आवश्यक सामाग्री अव्यवस्थित रूपमा राखिएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमनका क्रममा होटल बन्द अवस्थामा रहेकाले सुनवल नगरपालिका ४ का वडा अध्यक्षको पहलमा होटल खोली निरीक्षण गरिएको थियो । निरीक्षणपछि होटल सञ्चालकलाई भान्सा पूर्ण रूपमा सफा गर्न, अनावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न तथा खानेपानीको स्रोत सफा राख्न निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले तोकिएका सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न र निर्देशनअनुसार होटलको रूपान्तरण गरी ३० दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र सुनवल नगरपालिका ४ को वडा कार्यालयलाई जानकारी गराउन भनेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिएको जानकारी समेत विभागले दिएको छ ।




