रौतहट । तिहार तथा छठ पर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा भन्सार छली गरी नेपाल भित्र्याइएका सामानविरुद्ध सुरक्षा निकायले निगरानी कडा पारेका छन् । यसैक्रममा रौतहट र सर्लाहीबाट प्रहरीले २८ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडा तथा पटका बरामद गरेको छ ।
रौतहटको गौर नगरपालिका १ मा बिहीबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले मनोज साह (छोट्का) को घरमा छापा मार्दा ११ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका कपडा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा राति करिब ११ बजे सशस्त्र प्रहरी बल गौर गुल्मका डीएसपी दुर्गाप्रसाद भट्ट र भन्सार सुरक्षा गार्डका वरिष्ठ प्रहरी नायव निरीक्षकको संयुक्त कमाण्डमा खटिएको टोलीले घर खानतलासी गरेको थियो । बरामद कपडा भन्सार प्रक्रिया पूरा नगरी भित्र्याइएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यस्तै, सर्लाहीको मलंगवा नगरपालिका १ भेडेहियास्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब १७ लाख ३५ हजार रुपैयाँ बराबरका पटका तथा कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मलंगवा, गण अगर्बा र बीओपी खुटौनाबाट खटिएको ६२ जनाको संयुक्त टोलीले राति ९ बजे देवनारायण यादव र योगेन्द्र यादवको घर तथा गोठमा खानतलासी गर्दा लुकाइराखिएको अवस्थामा करिब १५ लाख रुपैयाँका पटका र २ लाख ३५ हजार रुपैयाँका कपडा फेला पारेको हो ।
सशस्त्र प्रहरीका एसपी अमरबहादुर खत्रीका अनुसार बरामद कपडा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मलंगवा भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ । चाडपर्वको अवसरमा पटका तथा भन्सार छलीका सामानको अवैध कारोबार बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी र गस्तीलाई तीव्र पारिएको सुरक्षा निकायले जनाएको छ ।




