सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–७ मा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्थाको शनिबार १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका निवर्तमान अध्यक्ष शालिग्राम लम्सालको अध्यक्षता तथा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
सभाले संस्थाको नयाँ कार्य समितिको अध्यक्षमा उद्धव प्रसाद पौडेललाई सर्वसम्मत रुपमा चयन गरेको छ । ९ सदस्यीय कार्य समितिमध्ये शनिबार अध्यक्ष चयन गरिएको र बाँकी पदाधिकारी तथा सदस्यहरु भने एक दुई दिनभित्रै सम्पूर्ण सल्लाहकारहरु बसेर चयन गरिने संस्थाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा ६ लाख ४५ हजार २०९ रुपैयाँ १४ पैसा खूद मुनाफा आर्जन गरेको संस्थाले शेयर सदस्यहरुलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष उद्धव प्रसाद पौडेलले जानकारी दिए ।




