काठमाडौं । आगामी साता देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले साप्ताहिक मौसम पूर्वानुमान निकालेर आगामी साताभरि नै देशका हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली भई अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार साताको सुरू र मध्यमा देशको हिमाली तथा पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा साताको अन्त्यमा देशका पहाडी भू-भागका धेरै तथा हिमाली र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै साताको अन्त्यमा प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै हिमाली भू-भागमा अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको र पहाडी तथा तराईका भू-भागमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर अधिकतम तापक्रम भने हल्का घट्ने सम्भावना रहेको बताइएको छ । रासस




