काठमाडौं । विगत केही दिनयता देशभर अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण देशभरको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक सातामा देशैभर अत्यधिक गर्मी बढेको हो ।
महाशाखाका अनुसार आइतबार दिउँसो नेपालगञ्जको तापक्रम ३८.२ डिग्री सेल्सियस मापन भएको थियो । यस्तै धनगढीमा ३७.८, दिपायलमा ३७.५, भैरहवामा ३७.२, सिमरामा ३६.५, विराटनगरमा ३५.७, जनकपुरमा ३५.८ र काठमाडौँमा ३२.३ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो ।
मनसुनको समय भए पनि पर्याप्त मात्रामा वर्षा हुन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
पहाडी भू–भागका थोरै स्थानहरुमा र अन्य भू–भागका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जसका कारण पहाडी भू–भागमा नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
२०७९ साउन २ गते (सोमबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
२०७९ साउन ३ गते (मंगलबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०७९ साउन ४ गते (बुधबार)
दिउँसो : देशभर सामान्यतादेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानहरूमा र अन्य भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।




