काठमाडौं । मकवानपुर र रुकुम पूर्वमा भएको यात्रु बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् । बिहिबार ओरालोमा ब्रेक नलागेर बस खस्दा मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा ७ र रुकुम पूर्वको भूमे गाउँपालिका ३ क्याङ्सीबगरमा ५ जनाको मृत्यु भएको हो ।
भीमफेदीमा साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर मिनी बस करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त दुर्घटना २६ जना घाइते भएका छन् । ३३ जना बोकेर काठमाडौंबाट हेटौंडातर्फ गइरहेको गरेको बा ३ ख ७८५८ नम्बरको मिनीबस जुरिखेतको एघार घुम्ती ओरालोबाट खसेको हो ।
मृत्यु हुनेहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट जाँदै ग १ ख ९१०९ नम्बरको बस भूमे ३ को क्याङ्सीबगरमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा १७ जना सवार थिए । ५ जनाको मृत्यु भएको छ ।
गम्भीर घाइते ४ जनालाई उपचारार्थ सेनाको हेलिकोप्टरमा बाँकेको कोहलपुर लगिएको छ । आठ जनाको स्थानीय जिल्ला अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
ब्रेक नलागेर चालकले बसको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए । मध्यपहाडी लोकमार्गको खबाङ-रुकुमकोट खण्डमा सिधा सडकमा गुडिरहेको बस सडकबाट करिब ५० मिटर खसेको थियो ।




