काठमाडौं । काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजना निर्माणको क्रममा नेपाली सेनाले निजगढका सामुदायिक वन समूहका वन क्षेत्रमा कटान गरेको काठ कुहिएर माटोमा परिणत हुन थालेको छ । पूर्व–पश्चिम राजमार्गको निजगढ स्थित द्रुतमार्गको जिरो पाइन्टसँगै घाटगद्दी गरेर राखिएको काठ यति बेला कुहिएर नष्ट हुन लागेका हुन् ।
यी काठ आयोजना निर्माणको क्रममा आर्थिक वर्ष २०७४/०७५ मा निजगढ नगरपालिकाभित्र रहेका कछडिया, जनहित, बाघ भैरव, बकैया नागमणि सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट कटान भएका हुन् ।
कु-काठ प्रजातिका अधिकांश रुख आयोजनाले हतारमा कटान गरेको र समूहमा हस्तान्तरण गर्न ढिलाइ गर्दा घाट गद्दीमै कुहिन थालेको हो । सेनाले आफूखुसी बेसाइजमा रुख काटेकाले बिक्री नभएको बताइएको छ ।
सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिए पछि आयोजना कार्यालयले सामुदायिक वन पदाधिकारी र प्राविधिकहरूसँग समन्वय नै नगरी बेसाइजमा रुख कटान गर्दा ठेक्का लाग्न समस्या भएको सामुदायिक वनको भनाइ छ ।
सामान्यतया उपभोक्ताले घरायसी प्रयोजनका लागि ७ देखि ९ फिटसम्म लम्बाई भएको काठ बढी प्रयोग गर्ने गर्दछन् तर सेनाले ७ फिट देखि १७ फिटसम्मको साइजमा रुख कटान गरेको थियो ।
द्रुतमार्ग निर्माणको क्रममा आव २०७४/०७५ मै छपान भएका १२ हजार ४५७ रुखमध्ये हालसम्म ५ हजार ४५ रुख कटान भइसकेको छ । यस्तै, विधुत् प्राधिकरणले ४ सय केभी प्रसारण लाइनको टावर निर्माण गर्दा काटिएको काठ दाउरा व्यवस्थापन नहुँदा रौतहटमा पनि काठ कुहिन थालेका छन् ।
करिब २ वर्षदेखि अलपत्र छाडिए पछि त्यहाँको काठ दाउरा पनि कुहिन थालेका छन् । प्रसारण लाइन निर्माण गर्ने क्रममा रौतहटको जङ्गलमा एक लाख क्यु फिट साल र कुकाठ तथा ८ सय चट्टा दाउरा सङ्कलन भएको थियो ।
रुखबाट निस्किएको गोलिया र दाउरा डिभिजन वन कार्यालयले प्रसारण लाइन क्षेत्र मै घाटगद्दी गरेर राखेको छ तर संरक्षण नहुँदा गोलिया र दाउरा कुहिन थालेका छन् ।
आपूर्ति समिति बन्नासाथ उपभोक्तालाई मागअनुसार राजस्व लिएर काठ उपलब्ध गराउने वन कार्यालयले जनाएको छ । १ हजार ९ सय उपभोक्ताले घर काजका लागि विभिन्न जातको काठको लागि समितिमा निवेदन दर्ता गराएका छन् ।




