रौतहट । अत्यधिक गर्मीका कारण रौतहटका सबै विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।
इकाइ प्रमुख रामविनय कुमार सिंहले बिहिबार सूचना निकालेर जिल्लाका १८ वटै पालिका कार्यालयलाई एक हप्ता विद्यालय बन्द गर्न सिफारिस गरेका हुन् ।
अत्यधिक गर्मीका कारण पठन पाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एक हप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
रौतहट सहित मध्ये तराईमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । सहनै नसक्ने गर्मीका कारण रौतहटसहित मध्ये तराईका जनजीवन प्रभावित बनेको छ । यस्तै सप्तरीका दुई स्थानीय तहले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
अत्यधिक गर्मीका कारण पठन पाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको शुक्रबारदेखि यही जेठ २३ गतेसम्म बिदा दिएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले बिहिबार सूचना जारी गर्दै विद्यालय बन्द गरेको जानकारी दिइन् । रासस




