पश्चिम नवलपरासी । इलाका प्रहरी कार्यालय सेमरीले अबैध रुपमा भारतबाट ल्याइएको युरिया मल बरामद गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा ठूलो मात्रामा युरिया मल बरामद गरेको हो ।
जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ३ गिदहा स्थित साधु चमारको फुसले छाएको कच्ची घरबाट लुकाइ राखेको ७० बोरा युरिया मल बरामद गरेको हो । त्यसैगरी सोही ठाउँ बस्ने मोतीलाल यादवको घरबाट पनि ४० बोरा युरिया मल बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय सेमरीको प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण चौहानको नेतृत्वमा गएको टोलीले उक्त मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय परासीका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।
बरामद गरिएको युरिया मल आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको पाण्डेले जानकारी दिए । कुल बरामद गरिएको १ सय दस बोरा युरियाको मूल्य अन्दाजी १ लाख १० हजार रहेको बुझिएको छ ।
केही तस्करहरुले किसान बताउँदै साइकल तथा मोटरसाइकलमा बोकेर मल ल्याउँछन् र उक्त खाद्यहरुलाई स्टल गरि राख्छन् पछि धेरै भएपछि पिकअपमा लोड गरि जिल्ला बाहिर पठाउने गरेको स्रोतले बताउँछ ।




