राजविराज । सप्तरीको रुपनीमा बिहिबार मध्यराति भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ । दुर्घटनामा उनका श्रीमान् गम्भीर घाइते भएका छन् ।
राति १२ बजेतिर रुपनीबाट राजविराजतर्फ जाने क्रममा रुपनी गाउँपालिकास्थित विद्युत् प्राधिकरण वितरण शाखानजिकै भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइलमा सवार रुपनी गाउँपालिका–३ कटैया निवासी ४० वर्षीया शिलावती मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकामा गम्भीर चोट लागेका उनको स्थानीय युनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकल चालक ४९ वर्षीय उनका श्रीमान् हरेराम मुखिया गम्भीर घाइते भएका छन् ।
उनको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहका अनुसार मोटरसाइकल दुर्घटनाको कारण खुल्न सकेको छैन ।
अत्यावश्यक काम परेर रातिको समयमा स ४ प ५७६० नम्बरको मोटरसाइकल चढेर राजविराज जाँदै गर्दा भएको दुर्घटनामा परी शिलावतीको मृत्यु तथा उनका श्रीमान् हरेराम गम्भीर घाइते भएको खबरले दुखित बनेका गाउँलेले दुर्घटनाका विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।




