रौतहट । रौतहटका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दशैंअघि नै भित्र्याउनु पर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दशैंअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुने बित्तिकै धान काट्न सुरु गरेका छन् ।
रौतहटमा यतिबेला किसानहरूलाई पाकेर भित्र्याउने समयमा पानी र असिनाले धान सखाप पार्छ कि भन्ने चिन्ता भएकाले धान भित्र्याउन थालेका हुन् । दशैंअघि धान भित्र्याएपछि ढुक्कले दशैं मनाउन पाउने किसान बताउँछन् ।
अहिले खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ । समयमै मल प्राप्त गर्न नसकेकाले बर्सेनि उत्पादनमा कमी आएको किसानको गुनासो छ । धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले बर्सेनि झेल्दै आएका छन् ।




