सर्लाही । सर्लाहीको लालबन्दी ७ मा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको बचत रकम लिएर फरार भएका छन् । अध्यक्ष र प्रबन्धक फरार भएपछि प्रहरीले सञ्चालक समितीका सदस्यलाई नियन्त्रणमा लिएको छ ।
कौडेना गाउँपालिका ३ घर भई हाल लालबन्दी नगरपालिका ५ मा बस्ने ३७ वर्षीया सुनितादेवी दासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सहकारीका अध्यक्ष झगरुप्रसाद दास र प्रबन्धक रवीना रायमाझी गत पुस १६ गतेदेखि संस्था बन्द गरेर फरार रहेका छन् ।
आफूहरूको बचत रकमसहित दास र रायमाझी फरार भएपछि बचतकर्ताले इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएका छन् । पक्राउ परेकी सुनिता फरार रहेका संस्थाका अध्यक्ष झगरुकी श्रीमती हुन् ।




