सर्लाही । सर्लाहीमा दुई पुरुषको शव फेला परेको छ । विभिन्न ठाउँमा दुई पुरुषको शव फेला परेपछि सर्लाहीमा त्रास फैलिएको छ । सर्लाहीको बसबरिया गाउँपालिका ६ र चक्रघट्टा गाउँपालिका ८ मा एक एक जना पुरुषको शव फेला परेको हो ।
बसबरिया ६ स्थित रामबाबा मन्दिरको नजिक परालको कुन्यूमा फेला परेको शवको पहिचान खुलेको छ । मृतक विष्णुपुर गाउँपालिका १ का ५५ वर्षीय राम सिफल हजारी भएको प्रहरीले जनाएको छ । मृतक हजारीको मानसिक सन्तुलन ठिक नरहेको बुझिएको प्रहरीको भनाइ छ ।
यस्तै चक्रघट्टा ८ को औरही गाउँ नजिक करिव ६५/७० वर्षका एक वृद्धको शव फेला परेको छ । वृद्धको पहिचान खुल्न सकेको छैन । प्रहरीले मृतक बारे जानकारी लिन खोजिरहेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाले दुवै शवलाई प्रादेशिक अस्पताल मलंगवा ल्याइसकिएको जनाएको छ ।
पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने र घटनाको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।




