वीरगंज । धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव विगार्ने एवम् द्वन्दलाई उक्साउने प्रकारका सामाग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै पनि संचार माध्यमबाट प्रशारण नगर्न नगराउनु जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले एक प्रेस विज्ञप्ति जारी गरी यस्तो अनुरोध गरेका हुन् । वीरगंजमा सोमबार दुई पक्षबीच रौतहटमा भएको घटनालाई लिएर विरोध प्रदर्शन तथा झडप भएपछि वीरगंजमा कर्फ्यू लगाइएको छ ।
फागुन ३ गते रौतहटको ईशनाथ नगरपालिकामा भएको विवादको विषयलाई लिएर सोमबार वीरगंजमा भएको विरोध जुलुश पश्चात् देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यवस्थापन गरिएको पनि प्रजिअ भुसालले बताएका छन् ।
नागरिकहरू बीच द्वेष श्रृजना गर्ने, उद्योगधन्दा, व्यापार व्यवसाय र नियमित क्रियाकलापमा असर पार्ने एवम् शान्ति सुरक्षा, अमनचयन कायम गर्ने कार्यमा नकारात्मक असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन सुचित गर्दै त्यस्ता क्रियाकलाप गरे गराएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने प्रजिअ भुसालले जानकारी दिए ।
सोमबार साझ पाँच बजेदेखि लगाइएको कर्फ्यू वीरगंजमा मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म खुकुलो गरिएको थियो । त्यसपछि फेरि कर्फ्यू जारी छ । रौतहटमा सरस्वती माताको मूर्ती बिसर्जनको क्रममा ढुङ्गा प्रहार भएपछी इशनाथ नगरपालिकामा पनि कर्फ्यु लगाइएको थियो ।
सोमबार सर्वसहमतिले मूर्ति विसर्जन पनि भइसकेको छ । रौतहटमा भएको उक्त घटनालाई लिएर वीरगंजमा पनि तनाव भएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।




